सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घरजग्गा बजारमा एभरग्रान्डेले निम्त्याएको भद्रगोल चीनले कसरी मिलाउला ?

सोमबार, १८ मङ्सिर २०८०, १५ : ५३
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । चिनियाँ रियल ईस्टेट कम्पनी एभरग्रान्डेको ऋण ३ खर्ब २५ अर्ब डलरभन्दा धेरै छ । कर्जाको यो आकार रुसको पूरै राष्ट्रिय कर्जाभन्दा धेरै हो । दुई वर्षसम्म कम्पनी एकपछि अर्को गर्दै संकटमा फसिरह्यो । अर्बौं डलर ऋणको साँवाब्याज तिर्न बारम्बार असफल भएपछि अहिले कम्पनीको संस्थापक नै प्रहरी हिरासतमा छन् । सेयर पत्रु भइसकेको छ । चीनका १० लाखभन्दा धेरै मानिस कम्पनीले आफ्नो घर कहिले पूरा गरेर देला भनेर कुरिरहेका छन् ।

सोमबार हङकङको एउटा अदालतले एभरग्रान्डेको केही सम्पत्ति बेचेर विदेशी लगानीकर्ताको पैसा चुक्ता गर्न आदेश दिन सक्छ । यो आदेशपछि कम्पनीको संकटमा अर्को अध्याय थपिने छ । अधिकांश पश्चिमी देशमा एभरग्रान्डे जस्ता निजी कम्पनीहरु टाट पल्टिए भने या त दामासाहीको प्रक्रिया थालिन्छ या त्यस्ता कम्पनीको वित्तीय उद्धार गरिन्छ । तर चीनमा यस्तो हुन्न ।

अहिले एभरग्रान्डे चीनको लागि टाउको दुखाईको विषय बनेको छ । सरकारले कम्पनीलाई जेनतेन मर्न दिएको छैन ।

एभरग्रान्डेले लिएको अधिकांश कर्जा चिनियाँ कर्जादाताहरुको हो जसमा साधारण घरधनीहरु, आपूर्तिकर्ता र बैंक आदि छन् । अक्टोबर ३० मा हङकङमा विदेशी लगानीकर्ताहरुले कम्पनीमाथि हालेको मुद्दाको सुनवाइ हुँदैछ । न्यायाधीशले कम्पनीका केही सम्पत्ति बेचेर ऋण चुक्ताको आदेश दिन सक्छन् । तर यसलाई पनि चिनियाँ अधिकारीहरुले अनुमोदन गर्नुपर्नेछ । त्यसो भए एभरग्रान्डे के हुन्छ त अब ? यसबारे चीनको नेतृत्वले निर्णय गर्न बाँकी नै रहेको केही विश्लेषकहरु बताउँछन् ।

_131513491_gettyimages-1668668472.jpg

चीनमा कयौँ प्रणाली अहिले पनि सोभियत संघकै शैलीको छ । सोभियत संघमा टाट पल्टिएका कम्पनीहरुको दामासाही प्रक्रिया नै थिएन । चीन सरकारले एभरग्रान्डेलाई धराशायी हुन दिन सक्छ । तर यसपछि देखिने भद्रगोल सरकार आफैँले मिलाउनु पर्नेछ । यो सानोतिनो राजनीतिक टाउको दुखाइको काम हुन्न ।

स्थानीय सरकारहरुले रियल ईस्टेट कम्पनीहरुलाई जग्गा बेचेर आएको पैसाले आफ्नो गर्जो टारिरहेका थिए । यसले स्थानीय सरकार, आपूर्तिकर्ता र बैंकहरुमाथि पर्ने प्रभाव विनाशकारी हुन सक्छ ।

एभरग्रान्डे ढल्यो भने यसले कम्युनिस्ट पार्टीको भविष्यमा क्षति पुर्‍याउन सक्ने केही विश्लेषकहरुको भनाइ छ । चीनमा सामाजिक स्थिरता नै दाउमा पर्नेछ । चिनियाँ बैंकका टाउकोमा खराब कर्जा थुप्रिने त छँदैछ, लाखौं चिनियाँले आफूले पैसा तिरेको घर वा अपार्टमेन्ट पाउने छैनन् । एभरग्रान्डे ढल्यो भने घरजग्गा बजारकै मनोबल चौपट हुनेछ । आफ्नो जीवनभरको कमाई नयाँ घरमा हालेका मानिसहरु घरबिहीन हुनेछन् । अर्थतन्त्र पहिलादेखि नै सुस्ताइरहेको छ । यसले अर्थतन्त्रमा अर्को झट्का दिनेछ । यसले आम जनतालाई झनै क्रोधित बनाउनेछ भने अस्थिरता पनि भड्काउनेछ । यो कम्युनिस्ट पार्टीको लागि सबैभन्दा ठूलो खतरा हुनेछ ।

त्यसो भएर एभरग्रान्डे असफल हुन दिनै नहुने भीमकाय हो त ?

सन् २००८ मा अमेरिकामा लेह्म्यान ब्रदर्श टाट पल्टिएपछि सोको असर अमेरिकी अर्थतन्त्र हुँदै विश्व अर्थतन्त्रमा पोखिएर विश्वव्यापी वित्तीय संकट नै निम्तिएको थियो । त्यति बेला असफल भएका बैंक र संस्थाहरुको वित्तीय उद्धार ती देशका सरकार र केन्द्रीय बैंकले गरेका थिए । तर चीन विल्कुल फरक छ । चीनको वित्तीय प्रणाली अमेरिकाको जस्तो घरजग्गा बजारसँग उल्झिएको छैन । न त सरकारलाई एभरग्रान्डेको वित्तीय उद्धार गर्ने हतारो देखिन्छ ।

त्यसैले एभरग्रान्डे ढल्यो नै भने पनि लेहम्यान ब्रदर्शले निम्त्याएको जस्तै विश्वव्यापी आर्थिक संकट नआउने चाइना बेज बुकका प्रमुख कार्यकारी लिल्यान्ड मिलर भन्छन् । एभरग्रान्डे मनलाग्दी कर्जाको परिणति हो । यस्तो कर्जामा अंकुश लगाउनै पर्थ्यो । तर एभरग्रान्डेको समस्या कति खराब हुन सक्छ भन्नेचाहिँ अधिकारीहरुले अनुमान गरेका थिएनन् ।

सरकारले अहिले लगानीमा आधारित आर्थिक वृद्धिको लक्ष्य लिएको छ । एभरग्रान्डेको वित्तीय उद्धारले अहिलेसम्म घरजग्गा बजारको तरलता सोस्न सरकारले गरेकोे कोसिसलाई गिज्याउनेछ । कम्पनी धराशायी भयो भने यसले विनाशकारी असर निम्त्याउनेछ, वित्तीय उद्धार वैचारिक रुपमा असक्षम छ । जे गरे पनि यो पीडादायक नै हुनेछ । चीनले यो मामिलालाई कसरी सल्ट्याउँछ भनेर हेर्नचाहिँ रोचक नै हुनेछ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप