अज्ञात समूहद्वारा रुपन्देहीमा ५ लाख ५० हजार रुपैयाँ लुटपाट
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित दयानगरमा ५ लाख ५० हजार रुपैयाँ लुटिएको छ । मर्चवारी गाउँपालिका–३ स्थित रायपुरका श्रीप्रकाश बरईको साथमा रहेको रकम अज्ञात समूहले लुटेको ईलाका प्रहरी कार्यालय (ईप्रका) मर्चवारले जनाएको छ ।
आइतबार साँझ करीब ६ बजे भैरहवाबाट मर्चवारी–३ रायपुरस्थित आफ्नो घरतर्फ आइरहेका गल्ला व्यापारी बरईको साथमा रहेको रकम सम्मरीमाई–६ डिहुली र दयानगरको बीचमा लुटिएको ईप्रका मर्चवारका प्रमुख प्रहरी निरीक्षक रेशम पौडेलले जानकारी दिए ।
बरई मोटरसाइकलमा आफ्नो घर आउँदै थिए । घटनापश्चात मर्चवार क्षेत्रको सम्पूर्ण नाकामा चेकजाँचलाई कडाइ पारिएको पौडेलले बताए ।
भैरहवा–मर्चवार सडकखण्ड हुँदै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनाको अज्ञात समूहले पेस्तोल देखाएर रकम लुटपाट गरेको श्रीप्रकाश बरईका भाइसमेत रहेका मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए ।