आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

सर्वाधिक रनदेखि सर्वाधिक छक्कासम्म नेपाली खेलाडीको दबदबा

आइतबार, २४ मङ्सिर २०८०, १७ : ००
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि ओमानले जिते पनि नेपालका कुशल भुर्तेल प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पाँच पालीमा कुशल भुर्तेलले कुल एक सय ८५ रन बनाए । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा ओमानका कश्यप प्रजापती दोस्रो स्थानमा रहे । उनले प्रतियोगिताको पाँच पालीमा कुल एक सय ६५ रन बनाए । तेस्रो स्थानमा आसिन ओमानका ब्याट्सम्यान जिसन मक्सुजले तीन पालीमा कुल एक सय ४० रन बनाए ।

सर्वाधिक विकेट लिने बलरको सूचीमा भने ओमानका बिलाल खान सबैभन्दा अगाडि रहे । बिलालले प्रतियोगिताको पाँच पालीमा कुल ११ विकेट लिए । सर्वाधिक विकेट लिनेको सूचिमा दोस्रो स्थानमा पनि ओमानकै बलर रहे । ओमानका अकिब इलियसले पाँच पालीमा कुल १० विकेट हात पारे । 

सर्वाधिक विकेट लिने बलरहरुको सूचिमा नेपालका प्रभावशाली स्पिनर सन्दीप लामिछाने तेस्रो स्थानमा रहे । सन्दीपले प्रतियोगिताको पाँच पालीमा कुल नौवटा विकेट लिए । प्रतियोगिताको फाइनलमा पनि उनले दुई विकेट लिएका थिए ।

प्रतियोगिताको फाइनलमा ओमानका कश्यप प्रजापती प्लेयर अफ दी म्याच घोषित भए । उनले प्रतियोगिता अवधिभरमा दुईवटा अर्धसतक बनाएका थिए । ओमानकै अकिब इलियसले प्लेयर अफ दी सिरिजको पुरस्कार पाए । प्रतियोगितामा ब्याटिङतर्फ सबैभन्दा उत्कृष्ट ‘स्ट्राइकर रेट’ भने नेपाली ब्याट्सम्यान करण केसीको रह्यो । उनले उनको ‘स्ट्राइक रेट’ २०५.८८ रहेको थियो ।

यो सूचिमा दोस्रो स्थानमा रहेका हङ्कङका ब्याट्सम्यान नसरुल्ला राणाको ‘स्ट्राइक रेट’ २०० थियो । समान २०० ‘स्ट्राइक रेट’ सहित मलेसियाका ब्याट्सम्यान फित्री साम तेस्रो स्थानमा रहे । उत्कृष्ट ‘इकोनोमी रेट’ सहित बलिङ गर्ने बलर भने कुवेतका सिराज खान हुन् । उनको ‘इकोनोमी रेट’ ५.०० रहेको थियो । 

यो सूचिमा संयुक्त अरब इमिरेट्स (यूएई) का आयान अफजल खान दोस्रो र ओमानका आयान खान तेस्रो स्थानमा रहे । आयान अफजल खानको ‘इकोनोमी रेट’ ५.१९ र आयान खानको ‘इकोनोमी रेट’ ५.३३ रहेको थियो । 

यसैगरी प्रतियोगिताको एउटै पालीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा हङ्कङका मार्टिन कोएट्जी पहिलो स्थानमा रहे । उनले मुलपानी क्रिकेट मैदानमा खेलिएको कुवेतविरुद्धको खेलमा ४८ बलमा ८१ रन बनाएका थिए । 

यो सूचिमा नेपालका कुशल भुर्तेल दोस्रो स्थानमा रहे । उनले कीर्तिपुर क्रिकेट स्टेडियममा खेलिएको सिंगापुरविरुद्धको खेलमा ४८ बलमा ७४ रन बनाएका थिए । प्रतियोगिता अवधिभरमा २३ जना ब्याट्सम्यानले अर्धसतक बनाए । 

प्रतियोगितामा कुशल भुर्तेलका अतिरिक्त नेपालका अन्य चार ब्याट्सम्यान कुशल मल्ल, आसिफ शेख, गल्सन झा र कप्तान रोहित पौडेलले पनि अर्धसतक बनाएका थिए । प्रतियोगिताको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर भने मलेसियाका मुहम्मद अमिर हुन् । उनले सिंगापुरविरुद्धको खेलमा पाँच विकेट लिएका थिए ।

यो सूचिमा ओमानका अकिब इलियस दोस्रो र नेपालका अविनाष बोहरा तेस्रो स्थानमा रहे । उनीहरुले एउटै खेलमा चार—चार विकेट लिएका थिए । अकिबले बहराइविरुद्धको खेलमा र अविनाषले लेसियाविरुद्धको खेलमा चार—चार विकेट लिएका थिए ।

यसैगरी सर्वाधिक क्यान लिने खेलाडीको सूचिमा नेपालका कप्तान रोहित पौडेल अग्रस्थानमा रहे । उनले प्रतियोगिता अवधिभरमा सातवटा क्याच लिएका थिए । यो सूचिमा मलेसियाका सरविन मुनियान्दी दोस्रो र नेपालका कुशल भुर्तेल तेस्रो स्थानमा रहे । उनीहरुले प्रतियोगितामा चार—चार क्याच लिएका थिए । 

यसैगरी नेपालका ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनले प्रतियोगितामा कुल ११ वटा छक्का हिर्काए । यसका अतिरिक्त उनले १८ वटा चौका पनि प्रहार गरेका थिए । यो सूचिमा नेपालका कुशल मल्ल दोस्रो स्थानमा रहे । उनले आठवटा छक्का हिर्काएका थिए । 

यो छनोट प्रतियोगिताबाट नेपाल र ओमान सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट भएका छन् । यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोलीले टी—२० विश्वकपको नवौँ संस्करण खेल्न पाउने प्रावधान थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप