बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चक्कु प्रहारबाट घाइते रौतहटका युवकको मृत्यु

आइतबार, २३ वैशाख २०८१, १५ : २५
आइतबार, २३ वैशाख २०८१

रौतहट । रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु भएको छ। चक्कु प्रहारबाट गम्भीर  घाइते भएका राजदेवी नगरपालिका ६ का २० वर्षीय राहुल साहको मृत्यु भएको हो । उपचारको क्रममा सोमबार बिहान एलएस न्युरो हस्पिटल वीरगन्जमा उनको मृत्यु भएको जनाइएको छ ।

गत शुक्रवार नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवालबाले आयोजना  गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा विवादपछि भएको झडपमा परेर साह गम्भीर घाइते भएका थिए । स्थानीय नागेन्द्र साह तेलीका छोरा राहुल  र सोही ठाउँका उमेश साह बानियाको २० वर्षीय छोरा राहुल गुप्ताबीच विवाद भएको थियो। विद्यालय कम्पाउन्ड बाहिर भएको विवादमा गुप्ताले साहको पेट तथा छातीमा छुरा प्रहार गरी घाइते बनाएका थिए ।

 घाइते साहलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल वीरगञ्ज लगिएको थियो । बिहान ५ बजे उपचारको क्रममा उनको मृत्यु भएको मृतकका काका राकेश साहले जानकारी दिए ।

काठमाडौँमा अध्ययन गरिरहेका मृतक साह दीपावली तथा छठ पर्व मनाउन घर आएका थिए। आरोपी गुप्ता पनि गौरस्थित गौरीशङ्कर यादव क्याम्पसमा कक्षा ११ मा अध्ययनरत रहेका थिए ।आरोपी गुप्तालाई यसअघि पनि गाउँकै एक युवकलाइ मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा कारबाहीमा परेका थिए ।

उनलाई सो कुटपिटमा संलग्न रहेको आरोपमा ९०  हजार रुपैयाँ जरिवाना गरिएको स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले भने घटनाका मुख्य आरोपी गुप्तालाई नियन्त्रणमा लिइसकिएको बताएका छन् ।  अन्य आरोपीको खोज तलास तथा थप अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप