आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमान चार्टर गरेर चिनियाँ खेलाडी क्रस कन्ट्री दौडिन पोखरा आउने, विजेतालाई साढे ३ लाख पुरस्कार

बुधबार, ०२ जेठ २०८१, १८ : ४९
बुधबार, ०२ जेठ २०८१

पोखरा । पोखरामा नोभेम्बर २५ तारिखका दिन अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौड हुने भएको छ । नेपाल र चीनका खेलाडी सम्मिलित हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको छ । विभिन्न ३ वटा विधामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडीहरू विमान चार्टर गरेर पोखरा आउनेछन् ।

हिमालय एयर चार्टर गरेर ७४ खेलाडी र अफिसियल सहितको टोली पोखरा आउन लागेको प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । यसअघि असारमा पनि पोखरामा भएको ड्रागन बोट फेष्टिभलमा सहभागी हुन चिनियाँ टोली सिचुवान एयर चार्टर गरेर पहिलोपटक पोखरा विमानस्थलमा अवतरण गरेको थियो । 

प्रतियोगिताको समूहतर्फ नेपालका १० र चीनका १० वटा टोली सहभागी हुनेछन् भने व्यक्तिगत तर्फ १४० प्रतिस्पर्धीले भाग लिने आयोजकले जनाएको छ । यसबाहेक विद्यार्थीको पनि छुट्टै दौड हुनेछ । टिमतर्फको स्पर्धामा २२ किलोमिटर दौड, १७ किलोमिटर साइक्लिङ र १ किलोमिटर बोटिङ हुनेछ । व्यक्तिगत तर्फ भने बोटिङ हुने छैन । 

समूहतर्फका विजेताले ३ लाख ६० हजार पुरस्कार पाउनेछ भने उपविजेताले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथोले १ लाख ४४ हजार र पाँचौँ हुनेले ९ हजार पुरस्कार पाउनेछन् । व्यक्तिगततर्फ पहिलो हुनेले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रोले ५४ हजार, चौथोदेखि सातौँसम्मले १८ हजार र आठौँदेखि दसौँसम्मका प्रतिस्पर्धीले ९ हजार पुरस्कार पाउने छन् । 

विद्यार्थीको प्रतिस्पर्धामा पहिलोलाई २५ हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार र पाँचौँलाई ५ हजार पुरस्कार तोकिएको छ । व्यक्तिगततर्फ र विद्यार्थीतर्फ महिला पुरुषलाई छुट्टाछुट्टै पुरस्कार छ । सबै प्रतिस्पर्धामा करिब २० लाख रुपैयाँ पुरस्कार वितरण हुनेछ । 

प्रतियोगिता सम्पन्न गर्न विभिन्न २२ वटा उपसमिति गठन भएको छ भने १४ वटा स्थानीय आमा समूह तथा युवा क्लबलाई जोडिएको छ । उनीहरुले खेलाडी पुगेपछि बाजागाजासहित सम्मान कार्यक्रम गर्नेछन् । नोभेम्बर २२ सम्म दर्ता खुला हुने पालिखेले जानकारी दिए । उनकाअनुसार पूरा प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च हुनेछ । यसबाहेक सर्वसाधारणका लागि ह्याप्पी रन समेत हुने बताइएको छ । 

‘ह्याप्पी रनलाई हामी च्यारिटी रन बनाउने सोचिरहेका छौँ । दौडिनेहरूबाट केही रकम सङ्कलन गरेर भूकम्प पीडितलाई सहयोग गर्ने योजना छ,’ उनले भने, ‘सरकारसँग स्वीकृति मागेका छौँ । सरकारले सहमति दिए ह्याप्पी रनलाई च्यारिटीमा बदल्नेछौं ।’ प्रतियोगिताको स्वामित्व पोखरा महानगरपालिकाले लिएको छ । यसमा विभिन्न चिनियाँ संघ संस्थाहरूले साथ दिएका छन् । 

‘यस्तो खालको कार्यक्रमले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचार पुग्छ । पर्यटकहरू आउँछन् । थलिएको यहाँको पर्यटनमा सपोर्ट पुग्छ,’ महानगरका प्रवक्ता मोती तिमिल्सिनाले भने, ‘आउँदा दिनहरूमा पनि यो प्रतियोगिता निरन्तर रूपमा चल्नेछ । एड्भेन्चर टुरिजमको रूपमा पोखरालाई विश्वभरी चिनाउँछौ ।’ प्रतियोगिताका लागि चीनबाट प्राविधिक र स्वास्थ्यकर्मीको टोली पनि आउने छ । पोखराबाट ४ टिम र काठमाडौँबाट ६ टिम सहभागी हुनेछन् । 

यसअघि सन् २०१९ मा भएको प्रतियोगितामा नेपालको सशस्त्र प्रहरी बल पहिलो भएको थियो । उक्त टोली कुन्मिनमा भएको प्रतियोगितामा सहभागी हुने अवसर पाएको थियो । यसपालि भने विजेताले पुरस्कार समेत पाउने भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप