सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
प्रोफेसर कुटपिट प्रकरण

आफूविरुद्धको मुद्दामा फैसला आउनै लाग्दा विद्यार्थी नेताले भने, ‘कम्युनिस्टको सफायापछि मात्रै देश बन्छ’

उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको प्रमुख योजनाकार थिए आचार्य
शनिबार, १२ जेठ २०८१, ११ : ३१
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेमबहादुर चलाउनेको ज्यान मार्ने उद्योगमा अभियुक्त रहेका नेपाल विद्यार्थी सङ्घका नेता हरि आचार्यले कम्युनिस्टको सफायापछि मात्रै देश बन्ने भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । बुधबार काठमाडौँ जिल्ला अदालतमा आफूविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएलगत्तै आरोपित आचार्यले कम्युनिस्टविरुद्ध आक्रोश ओकलेका हुन् । 

त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेमबहादुर चलाउनेको हत्या प्रयास गरेको अभियोगमा नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका नेता हरि आचार्य, अर्का विद्यार्थी नेता योगेन्द्र रावल लगायतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । बुधबारबाट अन्तिम सुनुवाइ सुरु भएको मुद्दामा बिहीबार फैसला हुने अपेक्षा गरिएको छ । 

सोही फैसलाको पूर्वसन्ध्यामा विदेशमा रहेका आचार्यले सामाजिक सञ्जालमार्फत कम्युनिस्टहरूको सफाया हुनुपर्ने आक्रोश पोखेका हुन् । देश नबन्नुमा कम्युनिस्ट नै कारक रहेको आरोप लगाउँदै कम्युनिस्टको सफाया (सामूहिक हत्या, निमिट्यान्न) पारेपछि देश बन्ने बताएका हुन् । साथै उनीहरूले नेपालका कम्युनिस्टलाई हमाससँग तुलना गर्दै कम्युनिस्टको सफाया हुनुपर्ने बताएका छन् । 

चलाउनेविरुद्धको ज्यान मार्ने कसुरमा आचार्य मुख्य योजनाकार रहेको आरोप 

त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेमबहादुर चलाउनेमाथि विश्वविद्यालय प्राङ्गणमै २०७७ असोज २० गते बिहान अन्दाजी ९ः३० बजे साङ्घातिक आक्रमण भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमै रहेको नेपाल बैङ्क लिमिटेडबाट पैसा झिकेर क्वार्टरमा फर्किंदै गर्दा तीन जनाले चलाउनेमाथि साङ्घातिक आक्रमण गरेका गरे । ज्यान मार्ने उद्देश्यले बाँसका भाटा प्रयोग गरी चलाउनेमाथि आक्रमण भएको थियो । 

आक्रमणबाट चलाउनेको टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेको थियो । प्रारम्भिक उपचारपछि उपप्राध्यापक चलाउनेले त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत नेपाल विद्यार्थी सङ्घका नेता हरि आचार्य र योगेन्द्र रावलसमेतका व्यक्तिहरूको योजनामा आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिए ।

किटानी जाहेरीलगत्तै फरार रहेका उनीहरूबारे खोजी गर्ने क्रममा प्रहरीले आक्रमणमा संलग्न रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुश भन्ने सयुज श्रेष्ठलाई पक्राउ गरेको थियो । सीसीटीभी फुटेजमा देखिएको मोटरसाइकल र व्यक्तिको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनीहरूले हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा आफूहरूले चलाउनेमाथि कुटपिट गरेको बयान दिएका थिए ।

पक्राउ परेका आरोपितहरूको बयानपछि प्रहरीले हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई प्रतिवादी तथा उनीहरूलाई सहयोग गर्ने दीपक राज ओझालाई मतियारका रूपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता ग¥यो । प्रतिवादीहरूलाई १० वर्ष कैद र जनही एक लाख रुपैयाँ जरिवानाको मागदाबी लिई काठमाडौँ जिल्ला अदालतमा २०७७ कात्तिक २० गते मुद्दा दर्ता भएको थियो । 

सुरुमा काठमाडौँ जिल्ला अदालतले सामान्य कुटपिट भन्दै प्रतिवादीहरूसँग थोरै धरौटी लिएर तारेखमा छाडिदिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले प्रतिवादीसँग २० हजारदेखि ८० हजार रुपैयाँसम्म धरौटी लिएर छाडिदिएका थिए ।

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध निवेदक चलाउने र सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत पाटन पुग्यो । उच्च अदालत पाटनले भने जिल्ला अदालतले माग गरेको धरौटी अपराधको प्रकृति र पीडितको स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै जनही ५ लाख रुपैयाँ धरौटी लिई प्रत्येक प्रतिवादीबाट उपचार खर्चका लागि तत्कालै जनही एक एक लाख रुपैयाँ भराउने आदेश दिएको थियो । यद्यपि सरकारी वकिल कार्यालय भने प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म निवेदन लिएर गएको थियो ।

भाडाका गुण्डाबाट गराइएको थियो प्रोफेसर चलाउनेमाथि आक्रमण 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान मार्ने उद्देश्यबाट कुटपिट गर्ने प्रमुख व्यक्ति रूपेश साहले चलाउनेमाथि कुटपिट गरिएको र कुटपिटमा कुन कुन व्यक्तिको कस्तो कस्तो संलग्नता थियो भनेर बयान दिएका थिए । मौकाको बयानमा साहले नेपाल विद्यार्थी सङ्घका नेता हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा आफूहरूले चलाउनेमाथि आक्रमण गरेको र त्यसबापत २० हजार रुपैयाँ लिएको बताएका थिए ।

अभियुक्त रूपेश साहले आफ्नो बयानमा भनेका थिए,
‘... त्रिभुवन विश्वविद्यालयको नेविसङ्घ सभापति हरि आचार्यले मलाई मिति २०७७ असोज १९ गते बेलुकाको अन्दाजी ८ बजेको समयमा निजको मोबाइल नम्बर ९८५७०....बाट मेरो ९८४२४....मा फोन गरी विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेमबहादुर चलाउनेले हाम्रो सङ्गठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा तोडेको छ, त्यसलाई ठीक पार्नुपर्छ, त्यसका लागि मद्दतसहित प्रहारसमेत गर्न तिमीलाई के के र कति जना मानिस चाहिन्छ, सम्पूर्ण काम कुरा तिमीले मिलाउनु र प्रेमबहादुर चलाउनेलाई चिन्ने, निज आउने ठाउँ देखाउने र अन्य सहयोगका लागि भोलि बिहान योगेन्द्र रावललाई त्रिभुवन विश्वविद्यालयमा गई भेट्न भनेको हुँदा मैले सोही कुरा योगेन्द्र रावललाई फोन गरी जानकारी गराएको र निजले मलाई कम्तीमा ४ जना केटाहरू लिई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको गेट अगाडि रहेको चिया पसलमा आउनु भनेको हुँदा मैले मेरो साथी रवीनकुमार लामा, निरज राना मगर, सयुस श्रेष्ठलाई भोलि बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक पदमा कार्यरत प्रेम चलाउनेलाई ठिक पार्नु पर्नेछ, तिमीहरू पनि मसँग जानु पर्छ भनी मिति २०७७ असोज १९ गते नै फोन सम्पर्क गरी जानकारी गराएको हुँदा मिति २०७७ असोज २० गते साथी स्वर्णिमको नम्बर याद नभएको स्कुटर लिई सोही स्कुटर आफूले चलाई सयुस श्रेष्ठलाई साथमा लिई जिल्ला काठमाडौँ कीर्तिपुर नपा वडा नं १० त्रिभुवन विश्वविद्यालयको गेट अगाडि पुग्यौँ ।

हामी दुई जना त्यहाँ पुग्दा मेरो साथीहरू रविनकुमार लामा र निरज राना मगरसमेत त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको चिया पसलमा आइसकेको हुँदा निजहरूलाई भेटेको र सोही चिया पसलमा योगेन्द्र रावलसमेत भएको हुँदा निजलाई भेटिसकेपश्चात निजले मलाई जाहेरवाला प्रेम चलाउनेको फोटो मोबाइलमा देखाई यसैलाई हान्नुपर्ने हो, ढुङ्गा, मुढा र भाटासमेतले सकेसम्म चुट्नु, मरेमा केही फरक पर्दैन, जे परेको हामी बेहोर्छौं भनेपछि प्रेम चलाउनेको फोटो मैले योगेन्द्र रावलको मोबाइलबाट मेरो मोबाइलमा खिची म तथा मेरो साथीहरू रवीनकुमार लामा, निरज रानामगर, सयुस श्रेष्ठसमेत चारै जनाले फोटो हेरी म र रवीनकुमार लामाले त्रिभुवन विश्वविद्यालयको कम्पाउन्ड छेउबाट ल्याइएका बाँसका गोलगिँडहरूसमेत साथमा लिई फोटोमा भएका मानिसलाई ठीक पार्न भनी जाँदै गर्दा योगेन्द्र रावलले निजको ९८५११...बाट मेरो मोबाइल नम्बर ९८४२४....मा फोन गरी प्रेम चलाउने बैङ्कबाट निस्कियो ।

आफ्नो काम गर भनी मलाई जानकारी गराएपश्चात फोटोमा भएका मानिसलाई सोही ठाउँमा भएको नेपाल बैङ्क लिमिटेड अगाडि सार्वजनिक ठाउँमा भेटेको हुँदा निजलाई सोही ठाउँमा रोकी मलगायत मेरो साथीहरू रवीनकुमार लामा, सयुज श्रेष्ठ, निरज रानामगरसमेत ४ जना भई निजलाई किन ताल्चा फुटाएको भनी सँगै लिएर गएको बाँसले मैले निजको टाउको तथा अनुहारको भागमा, रवीनकुमार लामाले निजको कम्मरको भागमा, सयुज श्रेष्ठले लात्ती र मुक्काले निजलाई कुटपिट गरेको हो ।

हामी ३ जनाले कुटपिट गर्दा निरज रानामगर नजिकै भाग्ने तयारी तथा प्रहरीसमेत आएको हेर्नका लागि स्कुटर स्टार्ट गरी स्कुटरमै बसेका थिए र हामीले प्रहार गर्दागर्दै बाटोमा यात्रा गरिरहेका ३–४ वटा मोटरसाइकलमा आएका मानिसहरूले समेत मोटरसाइकल रोकी हामीलाई हेर्न थालेकोमा मानिसले समाउँछन् कि भन्ने डर लागेको र हामीहरूले प्रहार गरेका मानिस रगताम्य भई रोडमा ढलेपछि मलगायत सयुज श्रेष्ठ, निरज रानामगर र रवीनकुमार लामा सो ठाउँबाट भागी हिँडेका हौँ ।

म उक्त वारदातपश्चात भागी मिति २०७७ असोज २० गते काठमाडौँको तिलगङ्गाको होटलमा गई बसेको, मिति २०७७ असोज २१ गते बेलुका काठमाडौँबाट रात्रि बसमा रूपन्देहीको बर्दघाटमा गई सो दिन होटलमा बसेको, मिति २०७७ असोज २३ गते बिहान सो ठाउँबाट जिल्ला चितवन नारायणघाटमा गई होटलमा बसेको र मिति २०७७ असोज २४ गते सो ठाउँबाट सिरहा हुँदै दिदीको घर जिल्ला मोरङ विराटनगरमा गई बसेको र मिति २०७७ असोज २५ गते विराटनगरबाट दिदीको स्कुटर लिई काठमाडौँ आएकोमा सोही दिन म पक्राउमा परेको हुँ ।

हामीहरूले लिई गएको गोलगिँड भएको बाँसले निज जाहेरवालालाई प्रहार गर्दा बाँस फुटी टुक्रा भएको हुँदा सोही टुक्रा प्रहरीले बरामद गरी ल्याएको हो । उक्त बाँसका भाटा हेरी चिनी सनाखत गरिदिएँ ।

जाहेरवालालाई प्रहार र हमला गर्ने र सोबाट ज्यान मरे पनि आफैँले जिम्मा लिने भनि मलाई निर्देशन दिने हरि आचार्य हुन् । जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यका लागि मसमेतलाई जाहेरवालाको फोटो देखाई चिनाउने, जाहेरवालाको निगरानी र रेकी गर्ने तथा अन्य सहयोगका लागि वारदात स्थलमा खटिने योगेन्द्र रावल हुन् भने निजहरू दुवैको निर्देशन बमोजिम जाहेरवालालाई प्रहार र हमला गर्ने कार्यमा रवीनकुमार लामा, सयुज श्रेष्ठ, निरज रानामगर र म स्वयं हौँ । यस कार्यका मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावल भएकोले निजहरूको जाहेरवालासँग अन्य के के रिसईवी थियो मलाई थाहा छैन । निजहरू दुवैको निर्देशन बमोजिम म समेतले जाहरवालालाई प्रहार गरेका हौँ ।

प्रहरी प्रतिवेदनसाथ मिसिल संलग्न भएको जाहेरबाला प्रेम चलाउनेको अनुहारमा घाउ चोट भएको फोटो मलाई देखाउँदा देखी पाएँ, फोटो जाहेरवाला प्रेम चलाउने कै हो, यिनै जाहेरवालाको फोटो मलाई योगेन्द्र रावलले निजको मोबाइलबाट मलाई देखाई मैले मेरो आफ्नो मोबाइलमा निजको फोटो खिचेको हुँ ।

मसमेतले निजलाई बाँसको गोलोगिँडले प्रहार गर्दा निजको अनुहारमा उक्त घाउचोट लागेको हो । वारदातपश्चात भाग्नका लागि आफूसँग रकम नभएको हुँदा मैले हरि आचार्यलाई फोन सम्पर्क गरेको र निजले पठाएको एक जना मानिसले मलाई जिल्ला ललितपुर पाटनमा भेटी जम्मा रकम २० हजार ल्याइदिएका हुन् । रकम ल्याइदिने मानिस को हुन्, निजको फोन नम्बर मलाई याद भएन ।’ 

अभियुक्त रूपेश साहले आफ्नो बयानमा घटनाको मुख्य योजनाकार त्रिभुवन विश्वविद्यालय नेवि सङ्घका सभापति हरि आचार्य रहेको र सहयोजनाकारमा योगेन्द्र रावल रहेका बयान दिएका थिए । सोही आधारमा उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । 

पछि सो मुद्दालाई राजनीतिकरण गर्दै गृह मन्त्रालयको सिफारिसमा कानुनमन्त्री धनराज गुरुङले मन्त्रीपरिषद्बाट फिर्ता लिने निर्णय गराएका थिए । तर मुद्दा फिर्ताका विषयमा सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले मुद्दा फिर्ता नगरी फैसला हुनेगरी आदेश दिएपछि अहिले काठमाडौँ जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । 

सम्भवतः बिहीबार नै यस मुद्दामा फैसला हुनेछ । तर फैसला हुनै लाग्दा विदेशमा रहेका अभियुक्त हरि आचार्यले कम्युनिस्टको सफाया हुनुपर्ने भन्दै आक्रोश पोखेका हुन् । 

Hari Acharya Status
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप