सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर न्युरो अस्पतालमा बालकको मृत्यु भएपछि तनाव

चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारजनको आरोप
शनिबार, १२ जेठ २०८१, २३ : ०३
शनिबार, १२ जेठ २०८१

जनकपुरधाम । जनकपुर न्युरो हस्पिटलमा पुनः एक बालकको मृत्यु भएको छ । धनुषा धाम नगरपालिका ६ माल टोल बस्ने विक्रम कालिकोटेका चार वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलको लापरबाहीले गर्दा बालकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

बुधवार राति साढे ९ बजे भर्ना गरेका बालकको बिहीबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको बालकका मामा सुनिल परियारले बताए । उनका अनुसार हस्पिटलले डिस्चार्ज गरेको ८ मिनेटपछि बालकको मृत्यु भएको हो । बालकलाई हस्पिटलले ११ बजेर २ मिनेटमा डिस्चार्ज गरेको उनले जानकारी दिए ।

बालकले एक्कासि बान्ता गरेपछि बालरोग विशेषज्ञ डा. शशिभुषण ठाकुरको क्लिनिकमा उपचारका लागि लगिएको  थियो । त्यहाँबाट डा. ठाकुरले आफू कार्यरत न्युरो हस्पिटलमा उपचारका लागि पठाएका थिए । बालकलाई पिसाबमा इन्फेक्सन भएको बताउँदै न्यूरोमा लैजान डा. ठाकुरले सुझाएका थिए ।

डिस्चार्ज गरिए लगत्तै अचानक बालकको श्वासप्रश्वासमा समस्या देखिएपछि पुनः हस्पिटलमा भर्ना गरिएको थियो ।  बालक फेरि सिकिस्त भएर अस्पताल भर्ना गरी चिकित्सकले उपचार गर्दागर्दै मृत्यु भएको बालकका मामा सुनिलले बताए ।

बालकको मृत्यु भएपछि पीडित परिवार शवसहित कारबाही र क्षतिपूर्तिको माग गर्दै धर्ना बसेका छन् । अस्पताल अगाडि धर्ना बसेका उनीहरूमाथि प्रहरीले बल समेत प्रयोग गरेको छ । त्यस लगतै भएको झडपपछि धर्नामा बसेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले पीडित परिवारका सदस्यहरू अराजक बनेपछि नियन्त्रणमा लिएको बताए । उनीहरुले अस्पतालमा ढुंगामुढा गरी टायर बालेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको डिएसपी अवाले बताए ।

उनले अस्पताल प्रशासन, प्रहरी र पीडितबिच वार्ता भइरहेको जानकारी दिए । वार्ता निष्कर्षमा पुगेपछि नियन्त्रणमा लिइएकाहरूलाई छाड्ने डिएसपी अवाले बताए ।

उता, अस्पताल प्रशासनले भने बालकलाई परिवारजनकै आग्रहमा डिस्चार्ज गरिएको र डिस्चार्ज पश्चात् मृत्यु भएको  जनाएको छ ।

बिना स्वीकृति झन्डै दुई वर्षदेखि सञ्चालनमा रहेको सो अस्पतालले उपचारमा लापरबाही गरेर पटक–पटक विवादमा तानिँदै आए पनि कारबाही गर्ने विषयमा सम्बन्धित निकाय भने मौन देखिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप