सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेतका लागि उडान अनुमति

आइतबार, १३ जेठ २०८१, ०९ : १२
आइतबार, १३ जेठ २०८१

सुर्खेत । श्री एअरलाईन्सले काठमाडौँ–सुर्खेतका लागि उडानको अनुमति पाएको छ । 

सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले श्री एअरलाईन्सले बिहीबार उडानको अनुमति पाएको रातोपाटीलाई जानकारी दिए । 

सुर्खेतका लागि श्री एअरलाईन्सले बुद्ध एअरभन्दा पहिला नै परीक्षण उडान गरेको थियो । यद्यपि उडान अनुमति भने पाएको थिएन । ‘अनुमति पाएर पनि अब अर्को हप्तादेखि उडान गर्छु भनेर उहाँहरूले भनिरहनुभएको छ,’ ढुङ्गेलले भने, ‘यहाँ अफिस सेटअप गर्दै हुनुहुन्छ । कतिखेर राख्ने भन्ने कुरा पनि अहिले भएको छैन ।’

७८ सिटे उक्त जहाज सुर्खेत आउने–जाने गरेसँगै सुर्खेत–काठमाडौँको भाडामा केही सस्तो पर्ने अपेक्षा गरिएको छ । उक्त जहाजका लागि सुर्खेत विमानस्थलमा भने फुल क्यापेसिटी छैन । ढुङ्गेलका अनुसार रनवे अलि सानो भएकाले समस्या चाहिँ छ । 

सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन समस्या छ । 

लम्बाई कम हुँदा एटीआर–७२ लगायतका ठुला जहाजको क्षमता अनुसार भार बोक्न नसक्ने, प्रदेशको प्रमुख र सक्रिय विमानस्थल भए पनि सर्वसाधारण नागरिकको पहुँचमा छैन ।

ठुला विमानका लागि अहिलेको विमानस्थल पर्याप्त छैन । मौसम खराब हुने बित्तिकै बुद्ध एअरको विमान आउन सक्दैन भने ठुलो प्रदेशको हिसाबले ल्यान्डिङ गराउने, कम भिजिबिलिटीमा पनि फ्लाइटहरू रेगुलर गर्ने लगायतका कामका लागि अहिलेको रनवे पर्याप्त छैन ।

रनवे विस्तारका लागि निकै प्रयासहरू भए पनि त्यो अहिलेसम्म सफल हुन सकेको छैन । सबैले प्रतिष्ठाको विषय बनाइएको विमानस्थल विस्तारको कार्य अहिलेसम्म अगाडि बढ्न सकिरहेको अवस्था छैन । जसका कारण सुर्खेत विमानस्थल कर्णालीका नागरिकहरूको सहज पहुँचमा छैन । 

श्री एअरलाईन्सले भाडादरको विषयमा अहिलेसम्म औपचारिक कुरा नभएको प्रमुख ढुङ्गेल बताउँछन् । यद्यपि यसअघिको भन्दा भाडादरमा केही सस्तो हुन सक्ने सम्भावना रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप