बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
अनुसन्धान प्रतिवेदन

बचतकर्ताको निक्षेप फिर्ता नगरेर ल्याण्डक्रुजर गाडी चढ्थे देउराली सहकारीका अध्यक्ष

प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
मङ्गलबार, ०१ जेठ २०८१, १२ : ४८
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेद बुझाएको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको छ । काभ्रेको चौँरी देउराली घर भएका चौलागाईंलाई ब्युरोले असोज १५ मा पक्राउ गरेको थियो । अध्यक्ष चौलागाईं, ऋण उप–समितिको संयोजक राजेन्द्र खत्री र सिनियर म्यानेजर दीपक केसी अहिले थुनामा छन् ।

ब्युरोले ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ मागदावी लिन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । ललितपुरको सातदोवाटो र भक्तपुरको सूर्य विनायकमा कार्यालय रहेको देउराली सहकारीमा बचतकर्ताले जम्मा गरेको २ अर्ब २० करोड ९२ लाख निक्षेप जोखिममा परेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सीआईबीमा ५५० जना निक्षेपकर्ताले दर्ता गराएका २०१ वटा जाहेरीबारे अनुसन्धान गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीका एसपी अधिकारी भन्छन्– ‘ठगी तथा सङ्गठित अपराधमा अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएका छौँ ।’

निक्षेपकर्ताले जम्मा गरेको रकम हिनामिना गरेर सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले २ करोड ८३ लाख मूल्यको गाडी चढेर हिँड्ने गरेका थिए । उनले चढ्ने गरेको टोयोटाको ल्याण्डक्रुजर ‘टि एक्स’ गाडी प्रहरीले बरामद गरेको छ । सो गाडीको बजार मूल्य अहिले २ करोड ८३ लाख पर्छ ।

सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गरेर चौंलागाईंको समूहले जग्गा र अन्य कम्पनीमा लगानी गरेको भेटिएको छ । चौंलागाईं र उनका साझेदारले १ सय २ रोपनी जग्गामा लगानी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘चौंलागाईंले आफ्नो पत्नीको नाममा २४ वटा कम्पनी खडा गरेर सहकारीको रकम अपचलन गरेको भेटिएको छ ।’

त्यस्ता कम्पनीहरू काभ्रे, ललितपुर र भक्तपुरमा स्थापना गरेको अनुसन्धानबाट थाहा भएको छ । कुल ५१ हजार ९७२ वर्गमिटर जग्गा विभिन्न कम्पनी तथा व्यक्तिको नाममा पास गरेर राखेको भेटिएको छ । सीआईबीले सबै सम्पत्ति रोक्का गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप