सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

रुसी सेनामा रहेका पाल्पाका पौडेल सम्पर्कविहीन

उद्धारका लागि परिवारको गुहार
शनिबार, १२ जेठ २०८१, २१ : ००
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । रुसी सेनामा कार्यरत पाल्पाका विष्णुबहादुर पौडेल परिवारको सम्पर्कबाहिर रहेका छन् । बिरामी रहेर अस्पतालमा उपचार गराउँदै आएका उनी पछिल्लो समय परिवारको सम्पर्कबाहिर रहेका हुन् । पटक पटकको प्रयासपछि पनि सम्पर्कमा नआएपछि उनको परिवार चिन्तित बनेको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ पाल्पा घर भएका पौडेल असोज २९ गते नेपालबाट रुस गएका थिए । रुस गएको केही समयपछि उनी रुसी सेनामा भर्ना भएका थिए । घरपरिवारलाई वैदेशिक रोजगारीको लागि रुस जान लागेको बताएका थिए । घर परिवारबाट रुसमा अहिले युद्ध चलिरहेकाले त्यहाँ नजान घर परिवारले आग्रह गरेका थिए । तर, उनी त्यहाँ पुगे ।

रुसी सेनामा भर्ना भएका उनलाई ३ नोभेम्बर २०२३ मा नियुक्ति पत्र दिइएको थियो । त्यसपछि उनलाई युक्रेनमा सीमामा खटाएको थियो । घरपरिवारसँगको सम्पर्कमा उनले निकै चिसो रहेको हिउँमा बस्नुपर्ने बताउँदै आएका थिए । उनका साला मदन रायमाझीका अनुसार केही दिन अगाडि बिरामी परेपछि उनलाई अस्पताल लगिएको थियो । छाती दुख्यो भनेर अस्पताल लगिएका उनमा फोक्सोमा समस्या देखिएको थियो । अस्पताल बसाइको क्रममा घरमा सम्पर्क भइरहन्थ्यो । तर, अहिले सम्पर्क नै हुन नसकेको रायमाझीको भनाई छ ।

‘अस्पतालमा हुँदा कहिलेकाहीँ कुरा हुन्थ्यो । अहिले चार दिन भयो, फोन पनि लाग्दैन । उताबाट पनि आएको छैन । हामी निकै चिन्तित बनेका छौँ । अस्पतालमा फोन चलाउन दिँदैन भन्दै हुनुहुन्थ्यो । लुकेर नै कुरा हुन्थ्यो । अहिले त सम्पर्क नै हुन सकेको छैन’ रायमाझीले भने ।

उनलाई दिइएको नियुक्ति पत्रमा रुसी राइफल म्यानको जिम्मेवारी दिइएको थियो । उनलाई रोस्टभ रिजनको पेरसिअनोस्कि गाउँमा खटाएको थियो ।

उनको घर परिवारले उद्धार गरेर नेपाल पठाइदिन अनुरोध गरेको छ । नेपाल सरकार तथा रुस सरकारसँग समेत उनीहरूले उनको उद्धार गरिदिन आग्रह गरेका हुन् ।

‘हामीले सुनेको, भाग्न पनि मिल्दैन रे । भाग्यो भने २० वर्ष जेल सजाय हुने भनेको छ भन्दै हुनुहुन्थ्यो । त्यसैले भाग्न खोज्दा आर्मीले समात्यो कि भन्ने डर पनि हामीलाई छ । घर परिवार पुरै चिन्तामा छौँ ।’ रायमाझीले भने ।

अधिकांश समय काठमाडौँमा बस्दै आएका पौडेल वैदेशिक रोजगारीमा जाने योजनामै थिए । घर परिवारसँग समेत चाडै नै विदेश जाने बताएका थिए । ‘पहिलादेखि नै काठमाडौँमा बसेर विदेश जान्छु । त्यसको प्रोसेस गर्दैछु भन्दै हुनुहुन्थ्यो । त्यही बेला रुसमा नजानुहोला है पनि भनेको थिएँ । तर, अन्तिममा त्यही जानु भयो’ रायमाझीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप