आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपा भारतप्रति कडा, चीनप्रति नरम

शुक्रबार, ३१ साउन २०७६, १० : ५१
शुक्रबार, ३१ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चीनको ‘सहयोग र सद्भाव’मा चलेको पार्टी हो भन्ने आरोप लागिरहेको बेला सो पार्टीले आफ्नो राजनीतिक दस्तावेजमा पनि त्यसको छनक देखाएको छ । नेकपाले तयार गरेको राजनीतिक दस्तावेजमा चीनप्रति नरम देखिएको छ भने भारतप्रति कडा देखिएको हो ।

नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा भनेको छ, ‘दुई विशाल छिमेकी देशको बीचमा रहेको नेपालले एकातर्फ ती देशको बजारको उपयोग, विकास र प्रगतिबाट लाभ लिनसक्ने अवसर रहेको छ भने अर्कोतर्फ राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेत रहने अवस्था रहेको छ ।’

त्यति मात्र होइन, असमान सन्धि–सम्झौताको पुनरावलोकन गर्दै पारस्परिक लाभ, समानता र राष्ट्रिय हित अनुरूप नयाँ सन्धि–सम्झौता गर्नुपर्नेमा कुरामा समेत दस्तावेजमा जोड दिएको छ । भारतसँग भएको सन् १८१५ को सन्धि लगायत विभिन्न सन्धिहरु पुनरावलोकन गर्नुपर्ने नेपालले भन्दै आइरहेको छ । 

इतिहासमा सधँै स्वतन्त्र रहँदै आएको नेपालले सुगौली सन्धिपश्चात भने राजनीतिक, आर्थिक र सांस्कृतिक हस्तक्षेपसँग सामना गर्नुपरेको नेकपाले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ । त्यहाँ भारतको नाम उल्लेख नगरिए पनि सुगौली सन्धि भारतसँग सन् १८१५ मा भएको थियो ।

नेकपाले आफ्नो दस्तावेजमा लेखेको छ, ‘विभिन्न असमान सन्धिहरु, आर्थिक परनिर्भरता, सांस्कृतिक अतिक्रमण र नेपालले आफ्ना आन्तरिक विषयहरुको स्वतन्त्र ढङ्गले समाधान गर्ने क्रममा बेलाबेलामा प्रकट हुने बाह्य हस्तक्षेपसँग हामीले निरन्तर प्रतिरोध गरिरहेका छौँ ।’

त्यति मात्र होइन, संविधान निर्माणको समयमा भारतले गरेको हस्तक्षेपको कुरा पनि दस्तावेजमा उल्लेख गरेको छ । संविधान निर्माण र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानका विषयमा नेपाली जनतामा अभूतपूर्व जागरण, सजगता र एकता प्रकट भएको दस्तावेजमा उल्लेख छ । 

नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र नेपालको राजनीतिलाई समेत आफ्नो प्रभावमा निरन्तर राखिरहने वैदेशिक प्रतिक्रियावादी शक्तिको व्यवहारले गर्दा नेपालले नव उपनिवेशवादी नीति र व्यवहारविरुद्ध समेत निरन्तर सङ्घर्ष गरिरहने नेकपाले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।

नेकपाको दस्तावेजमा भनिएको छ, ‘नेपाली जनता र नेपाल राष्ट्रले भोगिरहेको परनिर्भरता, वैदेशिक हस्तक्षेप, राजनीतकि–सांस्कृतिक अतिक्रमण तथा वैदेशिक हैकमवादलाई अन्त्य नगरी राष्ट्रिय स्वाधीनता र स्वाभिमान सुदृढ हुनसक्दैन ।’

तर त्यही चीनको प्रशंसा गरेको छ । चीन विश्वको दोस्रो आर्थिक शक्तिको रूपमा स्थापित भएको र निकट भविष्यमै पहिलो आर्थिक शक्तिका रूपमा स्थापित हुने दिशामा अग्रसर रहेको उल्लेख गरेको छ । नेकपाले आर्थिक विकास, यातायात लगायतका आवागमन सम्पर्क र विभिन्न मुलुक र सभ्यताका बीचमा सम्बन्ध जोड्ने उद्देश्यका साथ चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई विश्वका ७० भन्दा बढी मुलुकहरुले समर्थन गरेको उल्लेख गरेको छ ।

‘दक्षिण चीन सागर मलक्का जलडमरुलगायत समुद्री मार्गहरुमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकासित घटनाक्रम, चीनविरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरु लगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमलाई पनि हामीले ध्यानमा राख्नुपर्दछ’ नेकपाको दस्तावेजमा उल्लेख छ ।

नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा नेपालको अन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउने कुरामा जोड दिएको छ । रोजगारीको लागि विदेशी सुरक्षा निकायमा भर्ती हुने व्यवस्थालाई विस्थापन गर्ने कुरामा पनि नेकपाले जोड दिएको छ । 

भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजवादकै कारण आज विश्व थुप्रै सङ्कटहरुको बीचमा गुज्रिरहेको भन्दै नेकपाले मुठ्ठीभर बहुराष्ट्रिय निगमहरुका हातमा विश्वको अधिकांश सम्पत्ति थुपिँ्रदै जानु, विश्वव्यापी गरिबीको समस्या बढ्दै जानु र बेरोजगारी विकराल बन्नु वर्तमान समयका सबैभन्दा ठूला चुनौती रहेको दस्तावेजमा उल्लेख गरेको छ ।

जनतालाई प्राकृतिक स्रोत र साधनमाथिको स्वामित्वबाट विस्थापन गर्ने, जातीय, क्षेत्रीय तथा धार्मिक प्रकृतिका साम्प्रदायिक द्वन्द्वहरुको सिर्जना गराउने र आन्तरिक द्वन्द्वमा फसाएर तेस्रो विश्वका मुलुकहरुको राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको नेकपाको दाबी छ । 

शक्ति राष्ट्रहरु आणविक अस्त्रमाथि नियन्त्रण कायम गर्दै हतियार व्यापारका निम्ति विश्वव्यापी प्रभुत्व कायम गरिरहेका छन् । इराक, अफगानिस्तान, सिरिया लगायतका अधिकांश खाडी मुलुकमा युद्धको स्थिति अझै कायम रहको उल्लेख छ ।

पश्चिमा शक्ति राष्ट्रहरुले अरू मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यपार युद्ध हुनसक्ने आशङ्कासमेत गर्न थालिएको नेकपाको दस्तोवेजमा उल्लेख छ ।

भूराजनीतिक सन्दर्भमा विकसित भइरहेको घटनाक्रमहरूलाई पनि नजिकबाट नियाल्नुपर्ने उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावका बारेमा आवश्यक सजगता अपनाउनुपर्ने कुरामा जोड दिएको छ ।

नेपालका सन्दर्भमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको रक्षा गर्दै समाजवादका आधारमा तयार गर्ने बाटो नै अहिलको क्रान्तिको कार्यदिशा रहेको उल्लेख गर्दै नेकपाले पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको वडापत्रको आधारमा समानता, स्वतन्त्रता र पारस्परिक राष्ट्रिय हितका आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने, उत्पीडित राष्ट्रहरु तथा श्रमजीवी वर्गका हक–हित र मुक्तिका आन्दोलनमा एक्सबद्धता जाहेर गर्ने दस्तावेजमा भनिएको छ ।

नेकपाको दस्तावेजमा भनिएको छ, ‘प्रत्येक देशका वापन्थीहरुले आफ्नो समाजको विकासक्रम, ठोस परिस्थिति र समाजका विशेषताका बारेमा स्पष्ट बन्न सक्नुपर्छ । हामीले माक्र्सवादको प्रयोग र विकासमा विविधतालाई स्वीकार्नु पर्छ । हामी नयाँ र न्यायपूर्ण विश्व व्यवस्थाका पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।’

तत्कालीन नेकपा (एमाले) का विदेश विभाग सचिव यादव चन्द्र शर्माले प्रत्येक छिमेकीसँग सन्निकट सम्बन्ध राख्नुपर्ने बताएका छन् । उनले कुनै देशसँग इतिहासमा भएको कुनै घटनाले सम्बन्धमा केही भएको छ भने त्यसले अहिले आएर दूरी बढाउने वा कसैसँग टाढा कसैसँग नजिकको व्यवहार गर्न नहुने बताए ।

सुगौली सन्धि इतिहास भइसक्यो, भारतले पनि यसलाई संशोधन गर्ने भनेको छ, दुवै देशको सहमतिमा त्यो संशोधन हुन्छ तर त्यो इतिहासको कुरालाई लिएर अहिलेको सम्बन्ध विगार्न नहुने उनले बताए । उनले आफू दस्तावेज अध्ययन गरेको छैन तर विगतदेखि कम्युनिस्ट पार्टीले सबै देशसँग राम्रो सम्बन्ध बनाएर राख्ने पक्षमा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप