आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
न्यायालय

जग्गा फुकुवाको आदेशमा श्रेष्तेदार चिप्लिएपछि...

पुनरावेदनको म्याद बाँकी छँदै रोक्का जग्गा फुकुवा, न्यायाधीशले उल्टाएदिए श्रेष्तेदारको आदेश
सोमबार, २९ साउन २०८०, १२ : ५५
सोमबार, २९ साउन २०८०

विराटनगर । मोरङ जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रवीर जंग राणाले लिखत बदर मुद्दामा गरेको गल्तीलाई मोरङ जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले बदर गरिदिएको छ । 

मोरङको बूढीगंगा–३ का सिताराम खवासले विक्री गरेको जग्गाको लिखत बदर माग गर्दै उनका छोरा झगरु धामीले हालेको मुद्दा अदालतले दाबी नपुग्ने भनी खारेज गरेको थियो । तर, पुनरावेदनको म्याद कायम रहँदै श्रेष्तेदार राणाले जग्गा फुकुवाको आदेश दिएपछि उक्त विवाद पुनः इजलासमै पुगेर सच्चिएको छ । 

जिल्ला अदालतबाट भएको फैसला उपर चित्त नबुझे ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्ने म्याद वादीलाई रहने मुलुकी देवानी संहितामा व्यवस्था छ । 

तर, सो म्याद अगावै श्रेष्तेदार राणाले जग्गा फुकुवाका लागि निवेदन दिने प्रोटेक्स प्रालिको नाममा आदेश गर्दै जग्गा फुकुवा हुने आदेश दिएका थिए । मुद्दा फैसला प्रमाणित भएको १६ दिनमै राणाले फुकुवाको आदेश दिएका थिए । श्रेष्तेदारले हतारमा जग्गा फुकुवाको आदेश दिने निर्णय गर्दा आर्थिक चलखेल भएको विपक्षीको आरोप छ । 

सीतारामले कित्ता नम्बर १९९५ र १०२९ को ६ कट्ठा जग्गा २०७७ साल फागुन २ गते ५६ लाख रुपैयाँमा प्रोटेक्स प्रालिलाई बिक्री गरेका थिए । उक्त जग्गा बिक्री गरेको थाहा पाएपछि छोरा झगरुले ९ दिनपछि २०७७ फागुन ११ गते जिल्ला अदालत मोरङमा ‘लिखत बदर, दर्ता बदर र दर्ता कायम मुद्दा दर्ता गरेका थिए । 

उनले आफूलाई बाबुले अंश नदिई जग्गा विक्री गरेको भन्दै विक्री गरेको जग्गाको चार अंशियार रहेकोले चार भागको एक भाग लिखत बदर गर्दै आफ्ना नाममा दर्ता गराउन आदेश माग गरेका थिए । 

सो मुद्दामा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले गत वैशाख २८ गते झगरुको दाबी नपुग्ने फैसला गरेको थियो । इजलासले मुलुकी देवानी संहिता २०७४ को दफा ४२० अनुसार घर व्यवहारको लागि घरको मुख्य व्यक्तिले चल सम्पत्तिमा सबै र अचल सम्पत्तिमा आधासम्म कसैको मन्जुरी नलिई सगोलको सम्पत्ति विक्री गर्न सक्ने व्यवस्था रहेकोले सितारामले विक्री गरेको जग्गामा दाबी नपुग्ने ठहर गरेको थियो । 

Srestedar Aadesh

फैसलाअनुसार सितारामको परिवारमा सितारामसहित, वादी छोरा झगरु, आमा राजकुमारी र भाइ स्व. सुजित खवासको पत्नी रमादेवी खवाससमेत चार जना अंशियार रहेको र उनीहरूको बण्डा लाग्ने सम्पत्ति जम्मा १६ कट्ठा रहेको अदालतले ठहर गरेको छ । 

सो सम्पत्तिमध्ये आधा अर्थात् ८ कठ्ठासम्म घरमूली सितारामले मुलुकी देवानी संहिताको  दफा ४२० अनुसार विक्री गर्न पाउने भएकोले प्रोटेक्स प्रालिलाई विक्री गरेको कित्ता नम्बर १९९५ को २ कट्ठा ३ धूर र कित्ता नम्बर १०२९ को ३ कट्ठा १८ धूर ३ आना जग्गामा कुनै दाबी नलाग्ने अदालतले फैसला गरेको हो । 

फैसलाअनुसार झगरुलाई बुबा सितारामले कित्ता नम्बर १०२४ को दक्षिणतर्फबाट १ कट्ठा जग्गा यसअघि नै बकसपत्र गरिदिई सकेको पनि देखिन्छ । 

सो फैसला गत जेठ २९ गते प्रमाणीकरण भएपछि प्रोटेक्स प्रालिले झगरुले दिएको मुद्दाको विपक्षमा अदालतको फैसला आइसकेकोले रोक्का जग्गा फुकुवाको माग गर्दै २०८० असार ५ गते अदालतमा निवेदन दिएको थियो । 

सो निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले यसअघि नै झगरुको दाबी पुग्न नसक्ने फैसला भइसकेकोले जग्गा फुकुवासम्बन्धी निर्णयको अधिकार श्रेष्तेदारसँग रहेको हुँदा प्रोटेक्सको निवेदनउपर केही बोल्नु नपर्ने भनी असार १५ गते आदेश गरेको थियो । 

सोही आदेशअनुसार श्रेष्तेदार राणाले सोही दिन अघि रोक्का रहेको जग्गा बेचबिखन नगर्ने र खोजी भएका बखत जग्गा देखाइ उपस्थित हुने शर्तमा फुकुवा गरिदिने गरी आदेश गरेका थिए । 

तर जग्गा फुकुवा गर्ने श्रेष्तेदारको आदेश कार्यान्वयन नगर्न नगराउन माग गर्दै झगरुले असार २९ गते जिल्ला अदालतमै निवेदन दिए । सो निवेदनमा न्यायाधीश रोमनाथ अधिकारीको इजलासले साउन ५ गते श्रेष्तेदारको पत्र बदर हुने आदेश दिएका थिए । वादीको पुनरावेदन गर्ने म्याद बाँकी छँदै श्रेष्तेदारले जग्गा फुकुवा गर्ने आदेश गरेकोले त्यसलाई बदर गरी सो जग्गा रोक्का राख्न अदालतले अर्को आदेश दिएको हो ।

जग्गा फुकुवा विवादमा परेका श्रेष्तेदार राणाले इजलासले वादीको विपक्षमा फैसला गरेपछि आफूले जग्गा फुकुवाको आदेश गरेको बताए । तर, त्यसमा पुनरावेदनको म्याद ख्याल नगरी आदेश गर्नु आफ्नो त्रुटि भएको भन्दै उनले त्यसलाई अर्को इजलासले नै पुनः सच्याइसकेको बताए । 

राणाले भने, ‘इजलासमा गएको हो, इजलासमा पेश भएपछि इजलासले श्रेस्तेदारले नियम कानुन हेरेर गर्दा हुन्छ भन्ने आदेश भयो’, उनले भने, ‘इजलासले श्रेस्तेदारकोमा हाल्दिएपछि मैले फुकुवाको आदेश गरेको हो । पुनरावेदनको समय ख्याल नगर्नु मेरो कमजोरी भयो ।’ 

जग्गा खरिदकर्ता प्रोटेक्स प्रालिका नरेश खत्रीले २ वर्षदेखि बाबु छोराको विवादमा परेर आफूहरू पीडित रहेको गुनासो गरेका छन् । 

५६ लाख रुपैयाँमा जग्गा खरिद गरेकोमा सो पैसा फिर्ता भए जग्गा फिर्ता गरिदिने भन्दा पनि फिर्ता नपाएको बताउँदै उनले झगरु समेतको सहमतिमा आफूहरूले जग्गा खरिद गर्दा उनले विवाद झिकेर दुःख दिएको गुनासो गरे । 

अदालतमा झगरुले हालेको मुद्दा खारेज भइसकेपछि जग्गा उपभोग गर्न पाउनुपर्छ भनेर अदालतमा निवेदन दिएको बताउँदै उनले त्यसअनुसार श्रेष्तेदारले फुकुवा गरिदिएको जग्गा पुनः रोक्का हुँदा आफूहरू झनै पीडित बनेको खत्रीले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप